आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ज्ञानेन्द्रलाई भारतमा किन दिइयो ‘श्री ५’को सम्मान ?

सोमबार, चैत्र ३० २०७७

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उत्तराखण्डस्थित हरिद्वारमा श्री ५ को मान पदवीका आधारमा सम्मान दिइएको छ। उनलाई सोहीअनुसार सोमबार रथयात्रा गराउँदै कुम्भमेलामा शाही स्नानको व्यवस्था गरिएको थियो।
उत्तराखण्ड सरकारले उनको सम्मानमा विशेष पुष्पवृष्टि गराएको थियो। भारतीय जनता पार्टीको सरकार रहेको उत्तराखण्डमा तिर्थसिंह रावत मुख्यमन्त्री छन्। कुम्भमेलामा ज्ञानेन्द्रलाई राजाका हिसाबमा नै सम्मान दिइनु कुटनीतिक राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताइन्छ। 
भाजपामा प्रभाव राख्ने केन्द्रीय मन्त्री साध्वी निरञ्जन ज्योतिले हरिद्वारमा नै ज्ञानेन्द्रसँग वार्ता गरिसकेकी छन् भने सार्वजनिक कार्यक्रममा मञ्च समेत साटेकी थिइन्। 
आइतबार उनले दक्षिणकाली मन्दिरको दर्शन गरेको निरंजन पिठाधिश्वर कैलाशनन्द गिरीले जानकारी दिएका थिए। महामण्डलेश्वर गिरीसँगै ज्ञानेन्द्रको शाही स्नान सोमबार भयो।
उता सोमबार ज्ञानेन्द्रले मिडियासँग पनि बोलेका छन्। १२ बर्षमा लाग्ने कुम्भ मेलामा शाहले पहिलो पटक शाही स्नान गरेको बताएका थिए।
शाही स्नानपछि भारतीय मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै उनले पहिलो पटक स्नान गरे पनि हरिद्वार निक्कै पटक आएको बताए।
यसैबीच ज्ञानेन्द्र नयाँ दिल्ली फर्किएपछि उच्चस्तरीय भेटवार्ताका लागि समय मिलाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री कार्यालयका सल्लाहकारले ज्ञानेन्द्रसँग भेट गर्ने बताइन्छ। 
पारिवारिक सम्बन्ध समेत भएका कांग्रेस नेता करण सिंहले पनि ज्ञानेन्द्रसँग भेटवार्ता गर्ने बताइएको छ। उक्त वार्तामा नेपालमा राजसंस्थालाई कसरी स्पेश दिलाउन सकिन्छ भन्ने विषयमा कुराकानी हुनेछ। त्यसअघि हिन्दू अधिराज्यको पहल गर्ने विषयमा कुराकानी हुनेछ। 
भारतीय जनता पार्टी र त्यससँग सम्बन्धित बौद्धिक समूहले नेपालमा राजतन्त्र र हिन्दूत्वको अभियानमा समर्थन गर्दै सहयोग गर्ने बताइरकेको पृष्ठभूमीमा उच्चस्तरीय भेटवार्ताको मेसो मिलाइएको हो। यसको मध्यस्तता उत्तर प्रदेशका मुख्यमन्त्री तथा विश्व हिन्दू परिषदसँग सम्बद्ध योगी आदित्यनाथले गरेका छन्।