बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गच्छदार गएनन्,चेक बाउन्सका चाङ्गै चाङ्ग

शुक्रबार, चैत्र १३ २०७७

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले भ्रष्टाचारी प्रमाणित गरेपनि अहिलेसम्म न अदालत,न प्रहरी कतै हाजिर भएका छैनन् । अदालतले गच्छदारको म्याद तामेल भएको बताएपनि उनले सम्पर्क नराख्नुलाई रहस्यमय ठानिएको छ ।

अदालतका अनुसार म्याद तामेल भएपछि सम्पर्क राख्न आउनैपर्छ । अन्यथा,प्रहरीलाई पक्रेर ल्याउन अदालतले आदेश दिन पनि सक्छ । तर, म्याद तामेल रीतपूर्वक भएको हो वा होइन भन्नेमा नै आशंका गरिएको छ । ‘सेटिङ’ मा यदाकदा म्याद तामेल गरिएको हो भने त्यस्तो पनि हुनसक्ने आशंका छ ।

विशेष अदालतका अनुसार उक्त काण्डमा मुछिएका १ सय ७५ जनामध्ये अझै ३० जनाभन्दा बढीले सम्पर्क राखेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र बालुवाटार काण्डका नाइके शोभाकान्त ढकाल भने अहिले जेलमा छन् । तर,बाँकी सबै धरौटीमा छुटेको बताइन्छ ।

भाटभटेनीका मीनबहादुर गुरुङ सबैभन्दा धेरै २ करोड रुपैयाँ धरौटी रकम बुझाएर छुटेका हुन् । अन्य कतिपयले २ लाखदेखि २० लाख रुपैयाँसम्म बुझाएर छुटेका छन् ।

त्यसैगरी,नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गरेपछि अदालतमा चेक बाउन्सका मुद्दाको चाप पर्न थालेको छ ।

स्रोतका अनुसार काठमाडौंमा मात्र दिनको १० देखि १२ वटा चेक बाउन्सका मुद्दा पर्न थालेको हो । सुको रकम मौज्दात नभएको खाताबाट लाखौं रकमको चेक थमाएर काम फत्ते गर्नेहरूको सञ्जाल बढ्दै गएको प्रहरीले बताएको छ । जन आश्था साप्ताहिकमा खबर छ ।