शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन घट्यो शेयर बजार ? संकेत के हो ?

शनिबार, फाल्गुन २९ २०७७

काठमाडौं । दुई साताको अवधिमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति साढे २ खर्ब रुपैयाँले घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत स्क्रिपहरुको सम्पत्तिको मूल्य १५ वटा कारोबार दिनमा २ खर्ब ५० अर्ब रुपैयाँले घटेर ३४ खर्ब रुपैयाँ भन्दा तल झरेको हो ।  फागुन ९ गते शेयर बजारको कुल बजार पुँजीकरण सर्वाधिक ३६ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको थियो । बुधबारको अन्तिम कारोबारमा यस्तो पुँजीकरण ३३ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ । यो करिब ६.९० प्रतिशतको गिरावट हो । 

बजार पुँजीकरण सबैभन्दा उच्च विन्दुमा रहेको अवस्थामा बजार परिसूचक नेप्से २ हजार ६ सय ४० अंकमा पुगेको थियो । अहिले यस्तो परिसूचक २ हजार ४ सय ५८ विन्दुमा आइपुगेको छ ।  शेयर बजार घट्दै जाँदा यतिबेला कारोबार रकममा पनि सुस्तता आउन थालेको छ । नेप्से सर्वाधिक विन्दुमा पुगेर घट्न थालेपछि केही दिन नाफा बुक गर्नेको भीड लाग्दा कारोबार ८ अर्ब रुपैयाँभन्दा माथि थियो । त्यसपछि भने बजारलाई कारोबार रकमले पनि साथ दिन छाडेको छ । 

बजार र कारोबार रकम दुवै घट्नुलाई विज्ञहरु दुई तरिकाले व्याख्या गर्छन् । एउटा पक्षले यसलाई सकारात्मक ढंगले हेर्छन् । बजार घट्दा कारोबार कम हुनुको अर्थ मूल्य घटेर सस्तोमा शेयर बेच्न लगानीकर्ता तयार नभएको अवस्था हो । यसले शेयर होल्ड गर्ने लगानीकर्ताको आत्मविश्वास गुमेको छैन भन्ने जनाउँछ । तर, यसको अर्को पक्ष चाहिँ परिसूचक घट्दा पनि कारोबार रकम नबढ्नुको अर्थ खरिदकर्ताहरु बजारप्रति अझै विश्वस्त हुन नसकेको अवस्था हो । बजारमा ठूलै करेक्सन हुने सम्भावना खरिदकर्ताले देखे भने सामान्य करेक्सनको अवस्थामा शेयर किन्दैनन् । यसबाट बिक्रीको चाप कम भइ कारोबार कम हुन्छ । 

त्यसोभए, अहिलेको अवस्थालाई आत्मविश्वास कम भएको भन्ने कि उच्च आत्मविश्वास भएको भन्ने त ? विज्ञहरु भने उच्च आत्मविश्वास वा आत्मविश्वास कम भएको अवस्था नभएर नभएर लगानीकर्ताबीचको द्विविधा भएको अवस्थाको रुपमा विश्लेषण गर्छन् । बजारमा राजनीतिक उतारचढाव देखिएको र १ वर्षकै अवधिमा बजार परिसूचक दोब्बरको हाराहारीमा पुगिसक्दा बजारले गिरावटको बाटोलाई समात्ने अवस्थालाई विश्लेषकहरु नकार्दैनन् । तर, बजारमा रहेका कम्पनीहरुको मूल्य हेर्दा बजार घट्ने अवस्था पनि देखिँदैन । किनकी धेरै नाफा भएका कम्पनीको बजारमूल्य अहिले पनि सस्तो नै छ । 

लगानी निर्णय कसरी गर्ने ? 

द्विविधापूर्ण अवस्थामा बजार रहेको अवस्थामा लगानी गर्दा सम्बन्धित शेयर स्क्रिपको माग र आपूर्ति पक्षलाई ध्यानपूर्वक हेरेर लगानी गर्नुपर्ने सुझाव विज्ञहरुको छ । बजारमा वास्तविक बिक्रेता धेरै हुँदाहुँदै पनि खरिदकर्ता आइरहेका छैनन् भने तत्कालै खरिदसम्बन्धी निर्णय लिनु हुँदैन । तर, खरिदकर्ता धेरै हुँदा पनि बिक्रेता छैनन् भने बजारको मनोविज्ञान घटेको छैन भन्ने रुपमा बुझ्नुपर्छ । 

यद्यपि यी दुवै अवस्था बजारमा देखिएको छ भने यो ट्रयापको अवस्था हो । यो अवस्थामा लगानी गर्दा सामान्य अवस्थामा भँन्दा धेरै विवेक पुर्याउनुपर्ने सुझाव विज्ञहरुको छ ।