बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा

शनिबार, फाल्गुन २२ २०७७

कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् ।

शुक्रबार सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बनिदिनुस् भनेर आफूहरू कतै नहिँडेको र हिँड्दा पनि नहिँड्ने बताए । 

‘एउटा अलिकति भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौँ, उसलाई प्रस्ताव राख्यौँ भनेर । हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौँ । प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौँ, राख्दा पनि राख्दैनौँ ।’

ओलीले प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा पनि आक्रोश पोखे । दुईतिहाइ फोडेर अरूसँग प्रधानमन्त्री पद खाइदेऊ भन्दै प्रचण्ड–नेपाल पक्ष हिँडेको ओलीको आरोप छ । ‘आफ्नो दुईतिहाइ फोडेर छाड्ने, भाँडेर छाड्ने, भत्काएर छाड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न, खाइदिनुस् भन्न अन्त जाने ?’ ओलीले भने । 

सिंहदरबारमा भएको प्रचण्ड–नेपाल पक्षको दलको बैठकलाई लक्षित गर्दै ओलीले भने, ‘संसदीय दलको बैठक गर्दै छन् भन्ने सुनेको थिएँ । कुन दलको थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन, उहाँहरू लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरू देखेर अचम्म लाग्छ पनि, लाग्दैन पनि । किनभने उहाँहरू त्यस्तै हो । त्यसकारण अचम्म पनि लाग्दैन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।