बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आयल निगम कार्यकारी निर्देशक पौडेलविरूद्ध अख्तियारमा उजुरी, यसरी भए कलाकार खतिवडा विचौलिया !

शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। आयल निगम मालदार सरकारी अड्डा भएका कारण त्यहाँ पुग्न नेतृत्वलाई करोडौं घुस खुवाउने अभियोग लाग्ने गरेको छ। यस्तै प्रकरणमा पौडेलविरूद्ध उजुरी परेको हो।

निगमकै थानकोट डिपो प्रमुख प्रदिप यादव र हाँस्यकलाकार नारद खतिवडाले पौडेलले अबौँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरी हालेको बताइएको छ।

अख्तियारबाट प्राप्त विवरणअनुसार डिपो प्रमुख यादव र हाँस्यकलाकार खतिवडाले सँयुक्त रूपमा हालेको पौडेलविरूद्धको उजुरीको दर्ता नम्बर ०२४५८२ र २४७२५ हो।

उनीहरूले पौडेलले आयल निगममा कार्यकारी निर्देशकले अबौँ अनियमितता गरेको, डिपो प्रमुखसँग मासिक ५ लाख रुपैयाँसम्म असुली गर्दै आएको तथा कार्यकारी निर्देशक बन्न तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ८ करोड रुपैयाँ बुझाएको भन्दै छानबिन गर्न माग गर्दै उजुरी दिएका हुन्।

नारद खतिवडा कुनै बेलाका चर्चित हाँस्यकलाकार थिए। ट्रली बसमा खलासीको काम गर्दागर्दै खतिवडा कलाकारीतामा लागेका थिए । खतिवडाले कुनैबेला टेलिभिजन कार्यक्रम समेत चलाएका थिए भने ध्र्रुबे नामक चलचित्र समेत बनाएका थिए। खतिवडा चर्चित हाँस्यकलाकार मनोज गजुरेलको प्रतिस्पर्धी मानिन्थे।

कलाकारिताको माध्यमबाटै शक्ति केन्द्रसँग सम्बन्ध बनाएका खतिवडा हाल कलाकारिता छाडेर बिचौलिया बनेका हुन् ।

राजनीतिक रुपमा उनी माधव नेपालनिकट मानिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग आफू निकट रहेको भन्दै लाउड स्पिकरमा मोवाईलमा उनीहरूसँग कुरा गरेर कामलिने गरेका छन्।

मुख्य सचिव, सचिव र प्रहरी प्रशासनसँग निकट रहेको भन्दै ग्राहकहरू पट्याउने गरेका छन्।

सुरेन्द्र पौडेल उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक हुँदा बोर्डको सदस्य थिए, खतिवडा। तत्कालीन उद्योग मन्त्री महेश बस्नेतसँग रोई कराई गरेपछि बस्नेतले उदयपुर सिमेन्टको बोर्ड सदस्य नियुक्त गरेका थिए। शक्ति केन्द्रलाई बसमा पार्न माहिर खतिवडाले त्यतिबेलै पौडेलसँग सम्बन्ध बनाएका थिए ।

आयल निगमको कार्यकारी निर्देशकको लिखितमा नाम निकालेपछि खतिवडाले पौडेललाई लिएर तत्कालिन एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग सम्पर्क गराएका थिए ।

सुरेन्द्र पाण्डेमार्फत पौडेल तत्कालिन एमाओवादी अध्यक्ष प्रचण्डसँग डिल गर्न खुमलटारस्थित निवास पुगेका थिए। प्रचण्डसँग ८ करोडमा डिल भएको थियो। पौडेल आयल निगमको कार्यकारी निर्देशक बनेपछि प्रचण्डलाई ८ करोड रुपैयाँ बुझाएर आयलनिगमको कार्यकारी निर्देशक बनेको भनेर खतिवडाले नै बजार हल्ला चलाएका थिए।

पछिल्लो समय आयल निगमको थानकोट डिपोमा बसेर अनाधिकृत कारोबार गर्दै आएका खतिवडा र पौडेलबीच आर्थिक कारोबारमा पारदर्शिता नभएपछि मनमुटाब बढेको थियो। पौडेल एक्लैले दुई हातले हसुर्न थालेको भन्दै खतिवडाले असन्तुष्टि जनाउँदै आएका थिए ।

अख्तियारमा प्रेमकुमार राई प्रमुख आयुक्त बनेर आएपछि पौडेलबिरूद्ध अख्तियारमा उजुरी दिएका थिए । तर, प्रमुख आयुक्त राईले खतिवडालाई आफूले नचिनेको प्रतिकृया दिएका छन्।

को हुन् प्रदिप यादव?

पौडेलबिरूद्ध अख्तियारमा दर्ता गरिएको उजुरीकर्ताको नाममा खतिवडासँगै आयल निगमका थानकोट डिपोका प्रमुख प्रदिप यादवको समेत नाम छ । मालदार डिपोको रूपमा चिनिने अमलेखगञ्ज डिपोबाट सरुवा भएर यादव थानकोट डिपो आएका हुन्। थानकोट डिपो पनि अमलेखगञ्ज पछिको मालदार डिपो मानिन्छ ।

यादव पनि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग आफ्नो सम्बन्ध अत्यन्तै राम्रो भएको बताउँदै हिँड्ने गरेका छन् ।