काठमाडौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई आफ्नो खुद मुनाफाको एक प्र्रतिसत रकम सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गर्न निर्देशन दिएको छ ।
बोर्डले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गर्न आज सोमबार निर्देशन दिएको हो ।
निर्देशन अनुसार यस्तो खर्च विशेष गरी लगानी कर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने बोर्डले जानकारी दिएको छ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।
नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुखरुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने जसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने छ ।
