काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानामा झ्याप्प लाइन गयो । लाइन लामो समय गएन तर जाने आउने गर्याे । जसले उपभोक्तामा भने फेरी लोडसेडिङ हुन थालेको पो हो कि भन्ने भय सिर्जना गरेको छ ।
भारतबाट आयात गरेको बिजुली सहित देशमा उपलब्ध बिजुली माग अनुसारको भएपनि बत्ति भने जाने गरेको छ । प्राधिकरण भने सिस्टममा खराबीका कारण लाइन गएको नियोजित रुपमा बत्ति नकाटिएको दावी गर्छ ।
त्यस्तै सोमबार साझ ६ बजेर २७ मिनेट जाँदा बिजुली बत्ती झ्याप्प निभ्यो । चन्द्रनिगाहापुर देखि कोहलपुरसम्मको मध्य तथा मध्यपश्चीमको भागमा पुरै अन्धकार भयो । कैयनका मनमा लोडसेडिङ हुन थाल्यो कि क्या हो भन्ने प्रश्न पनि उब्जीयो ।
विद्युत प्राधिकरणका अनुसार ७२ मेगावाटको मध्यमस्र्याङ्दीमा पानी नपुगेर एउटा युनिट बन्द गर्नुपर्याे । यसको सट्टामाभारतबाट बिजुली आयात बढाएर मुजफ्फरपुरबाट चन्द्रनिगाहापुर जाने प्रसारणलाइनमा प्राधिकरणले २ सय २० मेगावाट बिजुली प्रवाह गर्न खोज्यो ।
तर, सिस्टमले नधानेपछि यो प्रसारण एक छिनका लागि बन्द हुन पुग्यो । जसका कारण चन्द्रनिगाहापुर देखि पश्चीमको भाग अर्थात कोहलपुरसम्म अन्धकार भयो । तर बिजुली हिजो मात्रै होेइन अहिले बेलाबेलामा जाने गरेको छ ।
गत वर्षसम्म ट्रान्सफर्मरका कारण बिजुली बत्ति झ्याप्प जाने गरेको बताउने प्राधिकरणले अहिले भने प्रसारणलाइनका तार कम क्षमताका भएकाले लाइन गएको बताउन थालेको छ ।
सोमबार कुल विद्युत माग १४ सय ५७ मेगावाट थियो । गत वर्षको पुष १३ मा १४ सय ७ मेगावाट माग रहेको प्राधिकरण बताउँछ । अर्थात गत वर्षको तुलनामा जम्मा ५० मेगावाट मात्रै माग बढेको हो ।
बितरण केन्द्रहरुले बताएअनुसार सरदर गत वर्षको तुलनामा १० प्रतिशत माग बढेको छ । तर यहि माग धान्न नसकेर कहि तार जलेकाले बिजुली जाने गरेको छ भने कतै फ्युज जाने गरेका छन् ।
प्राधिकरणले समयमै विद्युत प्रसारणप्रणली अपग्रेड गर्न नसकेका कारण उपभोक्ताले अहिले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।
जाडो बढेसँगै बिजुलीको माग बढेको छ तर खोलामा पानीको बहावमा कमि आएसँगै स्वदेशका आयोजनाको उत्पादन घटेको छ । जसका कारण भारतबाट आयातीत बिजुलीको मात्रा दिनदिनै बढाउनु परेको छ ।
कुल खपत हुने बिजुली मध्ये ४० प्रतिशत भारतबाट आयात गरेको छ । आवश्यक बिजुली उत्पादन गर्न नसक्ने त छदैछ उत्पादित बिजुली समेत बितरण गर्ने प्रणाली स्तरोन्नती गर्न नसक्दा उपभोक्ताले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।
त्यसैले अब प्राधिकरणले ढिला नगरि बिद्युतको गुणस्तर सुधार्न जरुरी छ ।