बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला प्रहरी नियन्त्रणमा

बिहिबार, कार्तिक २६ २०८३

रुपन्देही । तिहार तथा देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २९ वर्षीया प्राभी बस्नेत रहेका छन् ।

उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको प्रहरीको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत तिहार तथा भैलो कार्यक्रमका नाममा सांस्कृतिक मर्यादाविपरीत अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ ।

यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रहरीले मौलिक संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न सबैलाई अनुरोध गरेको छ ।