शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज काग तिहार मनाइँदै, यमपञ्चकको औपचारिक सुरुवात

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज शनिबार काग तिहार मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतका रूपमा कागको पूजा आराधना गरी मीठा खानेकुरा खान दिएर यो पर्व मनाउने धार्मिक परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज शास्त्रसम्मत रूपमा काग तिहार मनाउन लागिएको हो।

धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष पृथ्वीको खबर पुर्‍याउने भएकाले काग तिहारका दिन यसको पूजा गर्ने र मीठा खानेकुरा दिने चलन छ। काग घरआँगनमा आएर कराए शुभ समाचार प्राप्त हुने विश्वाससमेत नेपाली समाजमा रहिआएको छ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।

तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। यमराजको प्रकोपबाट बच्ने तथा यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ शुक्रबार साँझदेखि यमदीपदानसमेत सुरु गरिएको छ।

यसैगरी, तिहारको पहिलो दिन मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो।