काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ सुरु गरेका छन् ।
आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयसँगै केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन् ।
सर्वोच्च अदालत स्रोतका एक अधिकारीका अनुसार सरकारको निर्णयविरुद्ध कार्कीले रिट निवेदन पेस गरेका छन् । उक्त रिट दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।
आफ्नो कार्यकाल बाँकी रहँदै प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयलाई कार्कीले अदालतमा चुनौती दिएका हुन् ।