काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । भेटमा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल हुने बताइएको छ ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मिश्री बुधबार काठमाडौं आएका थिए । भ्रमणका क्रममा बुधबार उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यका सम्भावित क्षेत्र तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उठाउन सकिने विषयमा छलफल भएको बताइएको छ ।
विदेश सचिव मिश्री आज अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ ।