काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिन सडकखण्डमा आज दुई घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मझिमटारमा निर्माणाधीन आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने कामका लागि सडक बन्द गर्न लागिएको जनाएको छ।
कार्यालयका अनुसार हिजोदेखि सुरु भएको पुलको उक्त भाग राख्ने काम पूरा नभएकाले आज पनि सडक बन्द गरेर निर्माण कार्यलाई निरन्तरता दिन लागिएको हो।
आज बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासनले जनाएको छ।
निर्माण कार्यका क्रममा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले सहयोग र सहजीकरणका लागि आग्रह गरेको छ।