शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा स्टार्टअप ह्याकाथन हुने

शुक्रबार, कार्तिक १३ २०८३

नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ । ह्याकाथन काठमाडौं वल्र्ड स्कुलमा आयोजना हुनेछ ।

यस ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यवसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअपहरूको पहिचान गरी तिनलाई लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष पुग्ने अवसर प्रदान गर्नु हो । सहभागी टोलीहरूले सीमित समयभित्र आफ्ना व्यवसायिक अवधारणालाई परिष्कृत गर्दै समाधानको सम्भाव्यता, व्यवसायिक मोडेल, बजारको आवश्यकता तथा विस्तारको योजनासहित निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् ।

यस कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ। छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । ह्याकाथनको उद्देश्य केवल उत्कृष्ट विचार पहिचान गर्नु मात्र नभई ती विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यवसायिक सञ्जालसँग जोड्नु पनि हो ।

नेपालका प्रारम्भिक चरणका स्टार्टअपहरूले लगानीमा पहुँच, बजारमा आफ्नो पहिचान स्थापित गर्ने अवसर, अनुभवी मार्गदर्शक तथा व्यवसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन्। यस्तो अवस्थामा ह्याकाथनले उद्यमीहरूलाई आफ्ना समाधान परीक्षण गर्ने, व्यवसायिक अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्तासमक्ष पुग्ने अवसर प्रदान गर्नेछ ।

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलता संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषगरी, यो ह्याकाथनले प्रतिभाशाली उद्यमीलाई पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानीका सम्भावनासँग जोड्ने कार्यलाई व्यवस्थित बनाउनेछ ।

स्टार्टअप ह्याकाथन भोलिका सम्भावनायुक्त व्यवसाय निर्माण गर्ने उद्यमीका लागि आफ्नो विचारलाई अवसरमा रूपान्तरण गर्ने महत्त्वपूर्ण मञ्च हुनेछ । यसले नेपालमा लगानीयोग्य स्टार्टअपको पहिचान र विकासलाई गति दिनुका साथै देशको उद्यमशीलता इकोसिस्टमलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकहरूले आयोजकले उपलब्ध गराएको दर्ता माध्यमबाट आवेदन दिन सक्नेछन् ।