काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोपनीयता भंग गरी देश र संगठनप्रति विश्वासघात गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन्।
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरिएपछि गृहमन्त्री गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।
गृह मन्त्रालयले सोमबार साँझ गोप्य सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेको थियो। घटनाबारे छानबिन गर्न मन्त्रालयले समिति समेत गठन गरेको छ।
निलम्बनको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।
“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,” उनले लेखेका छन्।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि देखिरहेको समेत बताएका छन्।
उनले यस्तो प्रवृत्तिमाथि निगरानी भइरहेको उल्लेख गर्दै राज्यका संवेदनशील सूचना संरक्षणमा जिम्मेवार हुन सम्बन्धित सबैलाई सचेत गराएका छन्।