मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

देउवा समूहको कांग्रेस महाधिवेशन कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा

शुक्रबार, असोज १६ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा पेस गरेको कार्यतालिकालाई आयोगले अभिलेखमा राखेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले कार्यतालिका अभिलेखमा राख्न र सोहीअनुसार फाइल खडा गर्न तोक आदेश दिएका छन्।

देउवा नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज १३ गते आयोगमा पत्र पठाउँदै महाधिवेशनको प्रक्रिया र प्रस्तावित कार्यतालिकाबारे जानकारी गराएको थियो। पत्रमा मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।

देउवा समूहले बुझाएको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ। सातै प्रदेशको अधिवेशन मङ्सिर ४ गते गर्ने र त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि विधानबमोजिम थपिएको अवधिसहित आगामी मङ्सिर मसान्तमा समाप्त हुने भएकाले विधानअनुसार नयाँ महाधिवेशनको मिति तय गरिएको उल्लेख गरिएको छ।

यस्तै, कांग्रेसको आधिकारिकता र निर्वाचन आयोगको अघिल्लो निर्णयसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी पनि देउवा समूहले आयोगलाई गराएको छ। उक्त मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र सुनुवाइको प्रक्रिया जारी रहेको पत्रमा उल्लेख छ।

महाधिवेशन सम्पन्न भएपछि निर्वाचित नयाँ केन्द्रीय तथा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः निर्वाचन आयोगमा पेस गर्ने देउवा समूहले जनाएको छ।

यसबीच कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर फरक–फरक प्रक्रिया अघि बढेका छन्। अर्को पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।