शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मकवानपुरमा जमिन भासिएपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

सोमबार, असोज १२ २०८३

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन भासिन थालेपछि १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

भिरालो जमिनमा रहेको बस्तीमा अचानक जमिनभित्रबाट ‘डङडङ’ आवाज आउन थालेपछि स्थानीयलाई सचेत गराइएको थियो। त्यसपछि बस्तीको केही भाग सरेको र विभिन्न स्थानमा जमिन चिरा परेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जमिन भासिने क्रम बढेसँगै पहिरोको जोखिमसमेत बढेपछि बस्तीका १६ घरपरिवारलाई सोही क्षेत्रको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न तथा सम्भावित दुर्घटनाबाट जोगिन सुरक्षित स्थानमा रहन स्थानीयवासीलाई आग्रह गरेको छ।