बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

बिहिबार, असोज १ २०८३

रसुवा ।भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार बाढीपछि केन्द्रमा फसेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको हो ।

उनीहरूकाे शव बुधबार अपराह्न विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा फेला परेको थियो । फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले जानकारी दिए ।

उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन गरिएको थियो ।

महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो । बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित विद्युत् केन्द्रका सम्पूर्ण संरचनामा क्षति पुगेको छ ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्लामा खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको बताए । उनका अनुसार क्षतिको विवरण सङ्कलनका लागि एक महिनाको समय तोकेर कार्यादेशसहित २५ सदस्यीय समिति गठन गरिएको छ ।

बाढीका कारण नदी वारपारमा समस्या भएपछि विभिन्न स्थानमा तुइन तथा फड्के निर्माण गरी आवतजावत सहज बनाइएको छ । बाढीपछि फैलिन सक्ने हैजा तथा अन्य विपद्जन्य महामारीको जोखिमलाई ध्यानमा राखी आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था गरिएको पाण्डेले बताए