बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भोटेकोशी बाढीबाट १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

बिहिबार, असोज १ २०८३

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ। बाढीमा ती सवारीसाधनका चालक, सहचालक तथा यात्रुसहित ३४४ जना बेपत्ता भएका छन्।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट विभिन्न कम्पनीका बस, ट्रक, कन्टेनर, टिपर, माइक्रोबस, जीपलगायतका सवारीसाधनमा क्षति पुगेको हो।

महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गतका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन्।

त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि, बालाजुका १९ बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति हुँदा दुई चालक बेपत्ता भएका छन्।

हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुगेको छ भने १० चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन्।

यसैगरी, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुगेको र ७० जना बेपत्ता भएको महासङ्घले जनाएको छ। नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा पनि क्षति पुगेको छ।

पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति हुँदा एक चालक र २२ यात्रु बेपत्ता भएका छन्। धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालकसहित २५ तीर्थयात्री बेपत्ता भएको महासङ्घका महासचिव गौतमले जानकारी दिए।