चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद पनि वित्तीय अवस्था सवल, शेयर पूँजी तथा निक्षेप दुबै बढ्यो
कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा यही भदौ २७ गते शनिवार कोटेश्वर महादेवस्थानमा चार सय भन्दा बढी शेयर सदस्यहरुको गरिमामय उपस्थीतिमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०८२/०८३ मा चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको अध्यक्ष श्रेष्ठले बताए । सभामार्फत अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष उद्धवकुमार बुढाथोकीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमा शेयर पूँजी, निक्षेप संकलन तथा ऋण लगानीमा वृद्धि भएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आव २०८२/८३ मा संस्थाको शेयर पूँजी चार दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ६९ लाख २२ हजार एक सय रहेको शेयर पूँजी बढेर गत असार मसान्तसम्म एक करोड ७६ लाख रुपैंयाँको हाराहारी पुगेको छ । त्यसैगरी, संस्थाले संकलन गर्ने निक्षेपमा उल्लेख्य वृद्धि भएको छ । आव २०८१/०८२ मा छ करोड १७ लाख १० हजार तीन सय ३९ निक्षेप संकलन भएकोमा आव २०८२/०८३ मा २८ दशमलव ४६ प्रतिशतले बढेर सात करोड ९२ लाखभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ।
ऋण लगानीमा करिब १० प्रतिशत वृद्धि
कुटुम्ब साकोसले गत आर्थिक वर्षमा ऋण लगानी समेत बढाएको छ । आव २०८१/०८२ मा छ करोड ३८ लाख ९३ हजार तीन सय पाँच रुपैंयाँ ऋण लगानी गरेको संस्थाले आव २०८२/०८३ मा नौं दशमलव ८६ प्रतिशतले वृद्धि गर्दै सात करोड हाराहारी ऋण लगानी गरेको जानकारी दिएको छ।
संस्थाले सदस्यको आवश्यकता र सुझावलाई ध्यानमा राख्दै व्यवसायिक, धितो, लगानी, हायर पर्चेज, छोटो अवधि, सदस्य सुविधा, कृषि तथा पशुपालन, शैक्षिक र घरायसी ऋणलगायतका विभिन्न ऋण योजना सञ्चालन गरिरहेको छ।
निक्षेपको ५० दशमलव ६० प्रतिशत तरलता
संस्थाले सदस्यको बचत रकम सुरक्षित राख्न तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ । आव २०८२/०८३ को असार मसान्तसम्म संस्थाको नगद तथा बैंक मौज्दात गरी करिब चार करोड एक लाखभन्दा बढी रहेको र यो कुल निक्षेप दायित्वको ५० दशमलव ६० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
सहकारी मापदण्डअनुसार कायम गर्नुपर्ने १५ प्रतिशतभन्दा संस्थाको तरलता निकै माथि रहेको भन्दै व्यवस्थापनले सदस्यको बचत फिर्ता तथा आवश्यक ऋण लगानीमा समस्या नआएको जनाएको छ।
आर्थिक मन्दीबीच ‘पर्ख र हेर’ रणनीति
देशमा देखिएको आर्थिक मन्दी, लगानीका क्षेत्रमा आएको संकुचन, विकास खर्चमा कमी, ब्याजदरमा आएको गिरावट, आयात–निर्यातमा देखिएको नकारात्मक प्रभाव तथा केही सहकारीमा देखिएको सुशासनसम्बन्धी समस्याले समग्र वित्तीय क्षेत्रमा दबाब परेको प्रतिवेदनमा उल्लेख छ।
यस्तो अवस्थामा नयाँ लगानीका क्षेत्रमा हतार नगरी संस्थाले ‘पर्ख र हेर’ रणनीति अपनाएको संस्थाले जनाएको छ । सदस्यको बचत रकम सुरक्षालाई प्राथमिकता दिँदै जोखिमयुक्त क्षेत्रमा लगानी विस्तार नगरेका कारण संस्था आर्थिक संकटमा पर्न नपरेको अध्यक्ष श्रेष्ठले बताएका छन्।
उनका अनुसार संस्थाको नीति, नियम र विधिविपरीत कुनै आर्थिक गतिविधि नगरिएका कारण बचत फिर्तामा समस्या नआएको तथा सदस्यले आवश्यकता पर्दा सहज रूपमा ऋण प्राप्त गर्न सक्ने अवस्था कायम रहेको छ।
२६ लाख रुपैयाँ सञ्चालन बचत
कोषाध्यक्ष उद्धवकुमार बुढाथोकीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार आव २०८२/०८३ मा संस्थाले ब्याज तथा अन्य आम्दानीबाट कुल करिब एक करोड तीन लाख २१ हजार आम्दानी गरेको छ।
यस अवधिमा ब्याज खर्च, प्रशासनिक खर्च तथा ह्रासकट्टीसमेत गरी कुल ७७ लाख २१ हजार दुई रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर २६ लाख सात सय ८२ रुपैयाँ सञ्चालन बचत भएको प्रतिवेदनमा उल्लेख छ।
तर राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार उक्त रकम कर्जा सुरक्षण कोषमा छुट्याइएका कारण कर्मचारी बोनस कोष, जगेडा कोषलगायत अन्य कोषमा चालु वर्षमा रकम विनियोजन गर्न नसकिएको जनाइएको छ।
संस्थामा छ सय ७९ सदस्य, ६० बाल बचतकर्ता
२०६८ मंसिर १४ गते २५ जना सदस्यले प्रतिव्यक्ति एक हजारबाट स्थापना गरेको कुटुम्ब साकोसमा २०८३ असार मसान्तसम्म छ सय ७९ शेयर सदस्य पुगेका छन् । तीमध्ये तीन सय ३४ महिला र तीन सय ४५ पुरुष सदस्य रहेका छन् । त्यस्तै, ६० जना बाल बचतकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले सदस्यको वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय अनलाइन सफ्टवेयरमार्फत सेवा दिइरहेको जनाएको छ । गत वर्ष संस्थाको कार्यालयसमेत पुनर्निर्माण गरी आधुनिक, आकर्षक र व्यवस्थित बनाइएको छ।
चार वर्षे रणनीतिक योजना कार्यान्वयनमा
संस्थाले आगामी चार वर्षका लागि रणनीतिक योजना तथा बजेटसमेत तयार गरेको छ । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी उपसमिति, सल्लाहकार तथा व्यवस्थापनको सक्रिय सहभागितामा अध्ययन, छलफल तथा कार्यशाला गरी योजना तयार गरिएको हो।
संस्थाले आफ्नो परिकल्पना ‘सक्षम, गुणस्तरीय व्यवसायिक कुटुम्ब साकोस’ बनाएको छ। सहकारी सिद्धान्त, मापदण्ड र निर्देशनको पालना गर्दै आधुनिक प्रविधिको प्रयोगबाट सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराई सदस्यको समृद्ध जीवनयापनका लागि समर्पित संस्था बन्ने ध्येय लिइएको छ।
रणनीतिक योजनामा संस्थालाई वित्तीय रूपमा सुरक्षित र सक्षम बनाउने, प्रविधिमैत्री तथा गुणस्तरीय सेवा प्रदान गर्ने, संस्थालाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउने र सञ्चालक तथा व्यवस्थापनको क्षमता विकास गर्नेलगायतका विषयलाई प्राथमिकता दिइएको छ।
१६ प्रकारका बचत योजना
कुटुम्ब साकोसले सदस्यका लागि दैनिक, मासिक, ऐच्छिक, नारी, कुटुम्ब स्पेसल, आवधिक, बाल, खुत्रुके, कुटुम्ब सुनिश्चित भविष्य, सुपर, सुनौलो, मेरो, समृद्धि, हाम्रो, उज्वल तथा भ्रमण बचतलगायत विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ।
मासिक अनिवार्य बचत योजनामा मात्रै पाँच सय ६७ जना सहभागी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले ऐच्छिक तथा अनियमित बचत गरिरहेका सदस्यलाई समेत नियमित तथा अनिवार्य बचत योजनामा सहभागी हुन आग्रह गरेको छ।
नियमन प्राधिकरणबाट सञ्चालन इजाजत
कुटुम्ब साकोसले सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको जनाएको छ । साथै कर्जा सूचना केन्द्रको सदस्यता पनि प्राप्त गरिसकेको प्रतिवेदनमा उल्लेख छ।
संस्था जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून), राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून), ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) लगायतका संघसंस्थासँग आबद्ध रहेको छ।
सदस्य हित र सामाजिक उत्तरदायित्वमा जोड
संस्थाले सदस्य हित तथा सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका परिवारका छात्र–छात्रालाई सम्मान, उत्कृष्ट बचतकर्ता तथा ऋणी सदस्यलाई सम्मान र उत्कृष्ट कर्मचारीलाई ‘वर्ष कर्मचारी’का रूपमा पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यस्तै, योग्य ज्येष्ठ सदस्यलाई वार्षिक भत्ता तथा सम्मान प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालनमा रहेको छ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी परिसरको पुनर्निर्माणका लागि ४० हजार रुपैंयाँ सहयोग गरेको जनाएको छ।
रक्तदानदेखि निःशुल्क स्वास्थ्य परीक्षणसम्म
संस्थाको १४ औँ स्थापना दिवसका अवसरमा २०८२ मंसिर १३ गते कोटेश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । त्यसैगरी २०८२ फागुन ९ गते कोटेश्वरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम आयोजना गरिएको थियो।
महिला सदस्यका लागि हरितालिका तीजको अवसरमा सहकारी शिक्षा तथा तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमा एक सय ७५ जना महिला सदस्य सहभागी भएका थिए । त्यस्तै, साँखुको सलम्बुटारमा आयोजित सहकारी अन्तक्र्रिया तथा वनभोज कार्यक्रममा एक सय ४० जना सदस्य सहभागी भएका थिए।
बाढीपीडित राहत कोषमा सहयोग
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको अध्यक्ष श्रेष्ठले साधारणसभामा जानकारी गराएका छन्।
सुशासनलाई प्राथमिकता
सहकारी क्षेत्रमा देखिएको संकटका बीच संस्थाले नीति, विधि र प्रविधिमा आधारित भएर सुशासन कायम गर्दै अघि बढ्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिएका छन्।
संस्थाले बचत नीति, ऋण नीति, मानव संसाधन व्यवस्थापन नीति, आर्थिक नीति, सुशासन नीति, सदस्य हित तथा राहत कार्यक्रम कार्यविधि, गुनासो सुनुवाइ कार्यविधि, शेयर तथा सदस्यता नीति, निर्वाचन नीति, सदस्य सेवा नीति तथा जोखिम व्यवस्थापन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीतिलगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।
अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको जटिल परिस्थितिमा सञ्चालक समिति, व्यवस्थापन, उपसमिति र शेयर सदस्यबीचको सहकार्यबाट संस्था सञ्चालन गर्नुपर्ने बताएका छन् । सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि संस्था निरन्तर क्रियाशील रहने उनको भनाइ छ।

