काठमाडौँ । वैदिक सनातन हिन्दु नेपाली महिलाको प्रमुख पर्व हरितालिका तिज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिजका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ।
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजन पूजा तथा आराधनाका लागि लामबद्ध भएका छन्। रातो पहिरनमा सजिएका महिलाको बाक्लो उपस्थितिले पशुपति परिसरमा तिजको विशेष रौनक देखिएको छ।
तिजका दिन महिलाहरू भगवान् शिवको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्ने परम्परा छ। तिजमा व्रत बस्नाले राम्रो श्रीमान् प्राप्त हुने तथा श्रीमान्को आयु, आरोग्य र ऐश्वर्य बढ्ने जनविश्वास रहँदै आएको छ।
देशका विभिन्न स्थानमा महिलाहरूले तिजका अवसरमा शिवालयमा पूजाआराधना गर्नुका साथै नाचगान र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिरहेका छन्।