काठमाडाैं । सोमबार देशभरको मौसम सामान्यतया बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ ।
हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
मधेस र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
यसैबीच, कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।