तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक कमलाबारीमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनालगत्तै प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।