सिरहा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार सिरहामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि कार्यक्रमस्थलबाट बाहिरिएका छन्।
औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ताले मन्त्री पोखरेल बोलिरहेका बेला होहल्ला गरेका थिए। होहल्ला बढेपछि पोखरेल कार्यक्रमबाट बाहिरिएका हुन्।
घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले दुई जना व्यक्ति आएर हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिनुपरेको बताएका छन्।
उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकबाट सुझाव सङ्कलन भइरहेको छ।
“आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौँ,” पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
शनिबार सिरहा र सप्तरीमा १०० भन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भइरहेको अवस्थामा दुई जना व्यक्ति आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेको उनको भनाइ छ।
मन्त्री पोखरेलले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र भ्रम फैलाउने प्रयास भएको दाबीसमेत गरेका छन्।
लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने उनले बताएका छन्।
“कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन,” उनले लेखेका छन्।
घटनापछि पनि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले बताएका छन्। शनिबार मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको र त्यसपछि सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम रहेको उनले उल्लेख गरेका छन्।
कार्यक्रममा मन्त्री पोखरेलमाथि स्थानीय नेता–कार्यकर्ताले किन होहल्ला गरेका थिए भन्नेबारे भने थप विवरण सार्वजनिक भएको छैन।