काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज अधिकांश भू–भागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
महाशाखाले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज राति देशभर साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
त्यसैगरी, देशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा कास्की र लमजुङमा धेरै भारी वर्षा भएको छ। महाशाखाका अनुसार कास्कीको लुम्लेमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, लमजुङको फलेनीमा १०९.२ मिलिमिटर वर्षा भएको छ।
धादिङ र गोरखाको सीमा क्षेत्रमा पर्ने आरुघाटमा पनि पछिल्लो २४ घण्टामा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।