शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एलपी ग्यास उद्योगीमाथि मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको संघको आरोप

बिहिबार, भाद्र २५ २०८३

एलपी ग्यास उद्योगीहरूको छाता संगठन एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । संघले प्राकृतिक विपत्तिका कारण मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला उद्योगीलाई दोषारोपण गर्ने गरी आएको अभिव्यक्ति गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय भएको जनाएको हो ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले विगत पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख छ । विभिन्न कालखण्डमा आएका विपत्ति तथा महामारीका समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन अहोरात्र खटिँदै आफ्ना सम्पूर्ण स्रोत–साधन परिचालन गरी अविच्छिन्न सेवा प्रदान गर्दै आएको संघको दाबी छ ।

संघका अनुसार २०८३/०४/२४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एलपी ग्यास उद्योगीहरूप्रति गरेको अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हो । प्राकृतिक विपत्तिको समयमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण सहज बनाउन उद्योगीहरूले आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक काम गरिरहेको अवस्थामा मन्त्रीजस्तो अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु दुःखद् भएको संघले जनाएको छ ।

हालको विषम परिस्थितिमा अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्याको समाधान नहुने भन्दै संघले वस्तुनिष्ठ समीक्षा गर्न आग्रह गरेको छ । संघले आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनेर सुरु गरिएकोमा चार महिनासम्म निरन्तरता दिइएको विषय पनि स्मरण गराएको छ ।

संघले २०८२/१२/१६ गते नेपाल आयल निगम लिमिटेडमा पत्र पठाएर पूर्ण सिलिन्डरमा फर्कन अनुरोध गरेको तथा त्यसपछि पनि सम्बन्धित निकायहरूसँग आजको अवस्थाको मूल्यांकन गरी निर्णय परिमार्जन गर्न पटक–पटक अनुरोध गरेको जनाएको छ । तर ती आग्रहलाई बेवास्ता गरिएको संघको भनाइ छ ।

पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको मागमा अचानक वृद्धि हुनु तथा पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनुलाई समेत वर्तमान ग्यास अभावको अवस्थाको विश्लेषण गर्दा गम्भीरतापूर्वक लिनुपर्ने संघले जनाएको छ। ग्यासको आयातमा उचित तदारुकता नदेखाइनु पनि आपूर्ति समस्याको एउटा कारण हुन सक्ने संघको संकेत छ ।

संघले विषम परिस्थितिमा कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्नेमा आफ्नो संगठन सदैव सम्बन्धित निकायसँग रहेको स्पष्ट पारेको छ । तर प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघको ठहर छ ।

यस कठिन समयमा ग्यासजस्तो अत्यावश्यक वस्तु उपभोक्ताले सरल र सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले संघ विगतदेखि नै सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको र नेपाल सरकारका व्यावहारिक निर्देशन पालना गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । संघले कठिन परिस्थितिमा समेत एलपी ग्यासको आपूर्ति सहज बनाउन सहयोग गर्ने सम्बन्धित निकाय, एलपी ग्यास उपभोक्ता तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।