शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अलैँची भट्टीमा काम गरिरहेका बेला चट्याङ, २८ वर्षीय युवकको मृत्यु

बिहिबार, भाद्र २५ २०८३

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गएराति वर्षासँगै परेको चट्याङ लाग्दा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई तत्काल पाँचखपन आधारभूत अस्पताल, वानामा पुर्‍याइएको थियो। अस्पतालमा भर्ना गरेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

चट्याङ लागेर सोही स्थानका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन्। दुवै जनाको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।