बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

किम्रुङखोलाको बहाव सामान्य अवस्थामा फर्कियो, जोखिम नरहेको वडाध्यक्ष गुरुङको भनाइ

बुधबार, भाद्र २४ २०८३

कास्की  । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुनः सामान्य अवस्थामा फर्किएको छ।

मंगलबार साँझ अचानक खोलामा पानीको बहाव घटेपछि खोला कतै थुनिएको हुनसक्ने आशंका गरिएको थियो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षाकर्मीले रातभर उच्च सतर्कता अपनाएका थिए।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार अहिले किम्रुङखोलामा पानीको बहाव पुरानै अवस्थामा फर्किएको छ। तत्काल कुनै जोखिम नरहेको उनले बताए।

उनले भने, “हिजो साँझदेखि खोलामा पानी घटेपछि पहिरोका कारण खोला थुनिएको हो कि भन्ने चिन्ता भयो। हामीले पनि सबैलाई सतर्क रहन आग्रह गरेका थियौँ। माथिल्लो क्षेत्रमा पहिरो गएको हो कि भनेर बुझ्न लगाएका छौँ। तर अहिले खोलामा पानी पहिलेकै अवस्थामा बगिरहेको छ। जोखिम देखिएको छैन, सबै जना ढुक्क भए हुन्छ।”

खोला थुनिएको हुनसक्ने आशंकापछि मोदी र किम्रुङखोला आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले वीरेठाँटी, नयाँपुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

सम्भावित जोखिमका कारण केही स्थानीय राति घर छाडेर सुरक्षित स्थानमा समेत पुगेका थिए।

खोला थुनिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको थियो। घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

किम्रुङखोलामा गत असार २८ गते पनि एक्कासी ठूलो बाढी आएको थियो। बाढीले पुल बगाउनुका साथै आसपासका होटलमा समेत क्षति पुर्‍याएको थियो।

त्यसपछि आएको मोदीखोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। वीरेठाँटी–घान्द्रुक सडकसमेत तीन सातादेखि अवरुद्ध छ। अहिले वीरेठाँटी क्षेत्रमा सडक पुनर्निर्माणको काम भइरहेको छ।