शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढीमा १ हजार ३ सय ५५ जनाको शव फेला, ५ हजार अझै सम्पर्कविहीन

सोमबार, भाद्र २२ २०८३

काठमाडौं  । रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको पछिल्लो विवरण सार्वजनिक गर्दै बाढीमा परी १ हजार ३ सय ५५ जनाको मृत्यु भएको जनाएको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

करिब ५ हजार अझै सम्पर्कविहीन

बाढीपछि हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। तीमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र विदेशी नागरिक ५ सय ८९ जना छन्।

प्राधिकरणका अनुसार सम्पर्कविहीनको सूचीमा उद्धार भइसकेका तर सनाखत हुन बाँकी व्यक्ति पनि पर्न सक्ने भएकाले तथ्याङ्क रुजु गर्ने काम भइरहेको छ।

१३ हजारभन्दा बढीको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ।

उपचार गराइएकामध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

खोज तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।

भदौ २१ गते रसुवामा हेलिकप्टर र ट्रकमार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ भने २९ जना मनोसामाजिक परामर्शदातासमेत खटाइएको छ।