बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज देशभर बदली, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सोमबार, भाद्र २२ २०८३

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

देशका हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।