शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढी : ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

शनिबार, भाद्र २० २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा स्वदेशी तथा विदेशी गरी ४ हजार ८९८ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता हुने नेपाली नागरिकको संख्या २ हजार ९३० रहेको छ। तीमध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। यस्तै, १ हजार ३५० जनालाई फोन सम्पर्कमार्फत बेपत्ता सूचीमा दर्ता गरिएको प्रहरीले जनाएको छ।

बाढीमा ६९८ जना विदेशी नागरिक समेत बेपत्ता भएका छन्। बेपत्तामध्ये २७४ पुरुष र ३८४ महिला रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म १ हजार ३४४ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन्। त्यस्तै, ५०१ जनाको आंशिक अंग समेत फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये हालसम्म १ हजार ३० वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ।

उद्धारतर्फ भने हालसम्म ८ हजार ६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन्।

बाढीबाट विस्थापित तथा प्रभावित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

डीएनए परीक्षणबाट शव पहिचानको प्रयास

शव पहिचानका लागि प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। हालसम्म मृतकबाट १ हजार २६० वटा र मृतकका आफन्तबाट ९७२ वटा गरी कुल २ हजार २३२ वटा डीएनए नमुना संकलन गरिएको छ।

प्रहरीका अनुसार पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ। आफन्त तथा परिवारजनबाट प्राप्त विवरणका आधारमा शव पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

७ हजार ९१२ प्रहरी परिचालन

बाढीपछि खोज, उद्धार तथा राहतका लागि ७ हजार ९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार तथा राहतमा खटिएका प्रहरीमध्ये ६५ जना स्वयं प्रभावित भएका छन् भने २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा विपद्बाट जोगिन तथा सुरक्षित रहने उपायबारे जनचेतना फैलाउने कार्यसमेत भइरहेको छ। प्रहरीले हालसम्म १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा ४१ हजार ८३८ जना सहभागी भएका छन्।

प्रहरीले खोज तथा उद्धारसँगै बेपत्ता व्यक्तिको विवरण संकलन, शव पहिचान, डीएनए परीक्षण तथा प्रभावितको व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।