शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । रसुवा बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २८७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्यान्हसम्म विभिन्न जिल्लामा १ हजार २८७ जनाको शव फेला परेको हो। तीमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३५९ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

विपद्का क्रममा हालसम्म ५ हजार ३९७ जना घाइते हुनुभएको छ। घाइतेहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। शुक्रबार मात्रै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहत कार्यमा हालसम्म नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन्। उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक रहेका छन्।

विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक छन्। रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

सम्पर्कविहीनको संख्यामा पहिचान हुन नसकेका शवसमेत समावेश भएको हुनसक्ने प्राधिकरणले अनुमान गरेको छ।

७ हजार ५७० निजी घरमा क्षति
प्रारम्भिक आकलनअनुसार बाढी तथा अन्य विपद्का कारण ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। यस्तै, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायाततर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

प्राधिकरणले विपद्बाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

राहत सामग्री ढुवानीलाई प्राथमिकता
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ। काठमाडौंँबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।

सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्‍याएको छ। सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

बाढीका कारण अवरुद्ध सञ्चार सेवासमेत क्रमशः सञ्चालनमा आउन थालेका छन्। नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

सम्पर्कविहीन विदेशी नागरिक तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ।