काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको टोली राहत सामग्रीसहित नुवाकोटका बाढी प्रभावित क्षेत्रमा गएको छ।
पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीले नुवाकोट र रसुवाका बाढी प्रभावितका लागि पार्टीको तर्फबाट राहत सामग्री पठाएपछि आफूहरू नुवाकोटतर्फ गएको एमाले सचिव महेश बस्नेतले बताए।
बस्नेतका अनुसार अध्यक्ष ओलीसहितको टोलीले बाढी प्रभावितसँग भेटेर उनीहरूको समस्या, दुःख र गुनासो बुझ्नेछ। साथै, राहत, उद्धार तथा सरसफाइका लागि परिचालन गरिएका स्वयंसेवकको कामको समेत अध्यक्ष ओलीले निरीक्षण गर्नेछन्।
नुवाकोटमा एमालेको तर्फबाट करिब ३ सय स्वयंसेवक परिचालन गरिएको बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीको ‘नेसनल भोलिन्टियर फोर्स’ले प्रभावितलाई खाना खुवाउने, राहत सामग्री वितरण गर्ने तथा सरसफाइ गर्ने काममा सहयोग गरिरहेको छ।
अध्यक्ष ओलीको नेतृत्वमा गएको टोली आजै बेलुकी काठमाडौं फर्किने बस्नेतले बताए।
यसैगरी, रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एमालेले जिल्ला तहमा सहयोग समिति गठन गरेको उनले जानकारी दिए।


