शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

शुक्रबार, भाद्र १९ २०८३

ललितपुर  । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

भगवान् श्रीकृष्णको पूजा–आराधना गर्न बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको हो। हिन्दू धर्मअनुसार भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा हरेक वर्ष जन्माष्टमी पर्व मनाउने गरिन्छ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार पाटनको कृष्ण मन्दिरमा आज विशेष पूजा तथा आराधना भइरहेको छ। जन्माष्टमीका दिन हरेक वर्ष मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन्।

भक्तजनको व्यवस्थापनका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। महिला र पुरुषका लागि समेत अलग लाइनको व्यवस्था गरिएको छ।

मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि मङ्गल टोल सुधार समितिले खानेपानी तथा स्वास्थ्य सेवाको व्यवस्था गरेको छ।

लाइन व्यवस्थापनका लागि स्काउट तथा ललितपुर महानगर प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय तथा सहजीकरण गरिरहेको छ।