काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी १ हजार २९० शव फेला परेको जनाएको छ। भारतमा फेला परेका शवसमेत उक्त विवरणमा समावेश छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई जनाको विवरणसमेत समावेश गरिएको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार १४३ मृतक र ७१९ आफन्तको डीएनए नमुना संकलन गरिएको छ। बाढीपछि स्वदेशी तथा विदेशी गरी अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा अहिले ३०४ जना उपचाररत छन्।
यस्तै, नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत १ हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते र बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ। सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन भइरहेका छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन्। बाढीपछि विस्थापितको तत्कालीन व्यवस्थापन, घाइते तथा बिरामीको उपचार, राहत वितरण र सम्पर्कविहीनको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ।
बाढीमा ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको सम्बन्धित निकायले जनाएको छ।