शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन्।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबैमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्।

उनले सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्‍याउँदै मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी जन्माष्टमी पर्व मनाइने बताएका छन्।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ।

राष्ट्रपति पौडेलले स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न तथा सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्।

उनले श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।