काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बेपत्ता कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ १० गते आएको बाढीका कारण आयोजनाको पावरहाउससहितका संरचनामा क्षति पुगेपछि खोज तथा उद्धारका लागि नेपाली सेना परिचालन गरिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार टनेलको मुखमा करिब १५ फिटसम्म जमेको लेदो हटाएर नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरेको छ। सुरुङमा जमेको पानी निकास गर्न प्राविधिक टोली सफल भएपछि उद्धारकार्य थप सहज भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा सेनाको टोलीले सुरुङभित्र थप अगाडिसम्म पुगेर खोजी गर्ने प्रयास जारी राखेको उल्लेख छ। दिनरात नभनी खोज तथा उद्धारमा खटिएको टोलीले सुरुङमा जमेको पानी निकास गरेपछि उद्धारकार्यमा थप प्रगति भएको जनाइएको छ।
यसैबीच, प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोत–साधनको अभाव हुन नदिने निर्णय गरेको छ। बैठकले उद्धारमा आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्था, खर्च र त्यसको अभिलेख व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ।
बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारका पीरमर्का तथा गुनासा सम्बोधन गर्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ।
सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर घटनास्थलको अवस्थाबारे स्थलगत जानकारी गराउने व्यवस्था पनि मिलाइएको प्राधिकरणले जनाएको छ।