शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राजधानीबाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

बिहिबार, भाद्र १८ २०८३

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न कठिन भएपछि उद्योगहरूले अन्य जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ। त्यस्तै, चितवनको बाबा ग्यासले मंगलबार श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा छ।

बाबा ग्यासका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार चितवनकै साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर पठाएको छ।

यसैगरी गैँडाकोटस्थित जानकी ग्यासले नौबिसेको श्रीराम ग्यास, हेटौँडास्थित साहारा ग्यासले काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालेका छन्।

कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानीबाहिर रहेका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

उनका अनुसार भारतबाट नेपाल आयात हुने एलपी ग्यासको परिमाणमा कमी आएको छैन। बुलेटमार्फत ग्यास सम्बन्धित उद्योगसम्म पुर्‍याउन नसकेका उद्योगहरूले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाइरहेकाले तत्काल ग्यास अभाव हुने अवस्था छैन।

गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको जानकारी दिँदै कालाखेतीले यो हालसम्मकै उच्च परिमाणमध्ये एक भएको बताउनुभयो। अहिले पनि सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उनको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर उपत्यकामा पठाउन थालेका छन्।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशमा खपत हुने कुल एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका कारण आपूर्ति प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्थामार्फत ग्यास पठाउन थालिएको संघले जनाएको छ।