काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको हो।
इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा दिउँसो १ बजे बैठक बस्ने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।
उनका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीन विषयमा छलफल हुनेछ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई समेत आमन्त्रण गरिएको कुइकेलले बताए।
यसअघि कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति तय गरिसकेको छ। कांग्रेस केन्द्रीय समितिको साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्वनिर्धारित निर्णयअनुसार १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णयलाई यथावत् राखेको थियो।