काठमाडौँ। लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान जारी गरेको बुलेटिनमा विभिन्न सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको तथा केही स्थानमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि यातायात पूर्ण रूपमा रोकिएको छ। सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात अवरुद्ध भएको छ।
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारका अधिकांश भाग कटानमा परेपछि राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
नुवाकोटको विदुर–लाच्याङ सडकखण्डमा सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। यस्तै, टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ।
बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।
इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो जमेर यातायात अवरुद्ध भए पनि अहिले साना सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। प्रहरीले १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
प्रहरीले विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोअनुसार सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।