शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढी : पोखरामा ल्याइएका १०२ शवमध्ये २१ जनाको सनाखत

बुधबार, भाद्र १७ २०८३

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार मङ्गलबार २१ शवको सनाखत भएपछि सम्बन्धित परिवारलाई बुझाइएको हो।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको उनले जानकारी दिए।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन्। तीमध्ये एउटाभन्दा बढी परिवारले तस्बिर हेरेर आफ्नो आफन्त भएको दाबी गरेकाले थप परीक्षण गर्न बाँकी रहेको उनले बताए।

“लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो। सबै शवको डिएनए लिएका छौँ। परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने ।

उनका अनुसार धादिङबाट ल्याइएका २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो।

पहिचान हुन नसकेका शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ। शव पुरिसकेपछि प्रत्येक स्थानमा गमला राखेर शवको सङ्केत नम्बर उल्लेख गरिएको ‘स्ट्यान्ड’ समेत बनाइएको छ।