शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव प्रस्तुत हुँदै

बुधबार, भाद्र १७ २०८३

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।

सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।

विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रस्तावमा २०८३ साल भदौ १० गते बुधबार आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेशी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र व्यापक जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरिनेछ।

प्रस्तावमा बाढीबाट घरबारविहीन हुनुभएका नागरिकको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिनेछ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिने उल्लेख छ।

यसैबीच, आज अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवामा गएको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल गरिनेछ।

यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।