शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डिएनए नमूना सङ्कलनपछि २८० शवको सुरक्षित व्यवस्थापन

मंगलबार, भाद्र १६ २०८३

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डिएनए नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरेका थिए । भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनए तथा अन्य जैविक नमूना सङ्कलन र अभिलेखीकरणको काम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भएपछि आफन्तले बुझिसकेका छन् ।

सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका तथा १२६ वटा पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार भविष्यमा शवको पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार डिएनए तथा अन्य आवश्यक नमूना सुरक्षित राखेर देवघाटस्थित व्यवस्थापनस्थलमा शवको व्यवस्थापन गरिएको हो ।

भदौ १३ गते ९६, भदौ १४ गते १०३ र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको थियो । यसरी तीन दिनमा २८० शवको सुरक्षित व्यवस्थापन गरिएको हो ।