शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हेटौँडा–काठमाडौँ आवतजावतमा आजदेखि ‘वान–वे’ रुट

मंगलबार, भाद्र १६ २०८३

हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेसँगै आजदेखि साना यात्रुवाहक सवारीका लागि ‘वान–वे’ रुट लागू गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ । काठमाडौँबाट हेटौँडा आउने सवारीले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो । वैकल्पिक मार्गमा समेत सवारीको चाप बढेर जाम हुन थालेपछि प्रशासनले आवतजावतका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको हो ।

नयाँ रुट व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम घटाउनुका साथै लामो समयसम्म सवारीसाधन रोकेर राख्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।