काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न तथा प्रत्यक्ष उद्धार र राहत कार्यमा सहभागी हुन व्यवसायी तथा सर्वसाधारणमा अपिल गरेको छ।
महासंघका महासचिव निरबहादुर विक (विमल धमला) ले विपद्का कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै महासंघका पदाधिकारी तथा सदस्य, सातवटै प्रदेशका पदाधिकारी तथा सदस्य, आबद्ध संघसंस्थाका पदाधिकारी तथा सदस्यलगायत देश–विदेशमा रहेका सम्पूर्ण सुनचाँदी व्यवसायी, कालिगड, कर्मचारी, समाजसेवी तथा दाजुभाइ–दिदीबहिनीलाई सहयोगमा जुट्न आग्रह गरेका हुन् ।
उनले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्नुका साथै राहत सामग्री संकलन र उद्धार कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको छ। विपद्को समयमा गरिएको सानो सहयोगले पनि कसैको जीवन बचाउन, पीडितको आँसु पुछ्न र प्रभावित परिवारमा आशा जगाउन सक्ने उनको भनाइ छ।
“विपद्को घडीमा मानवता, एकता र सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आउनुहोस्, आ–आफ्नो ठाउँबाट सहयोग गरी मानवताको उदाहरण बनौँ,” महासचिव विकले अपिलमा भनेका छन् ।