शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अधिक तरलताबीच बैंकहरूको नाफामा उकालो

२० वटा वाणिज्य बैंकहरुले कमाए ६९ अर्ब ८८ करोड रुपैंयाँ नाफा

सोमबार, भाद्र १५ २०८३

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाने तर सोही अनुपातमा कर्जा प्रवाह विस्तार हुन नसक्दा अधिक तरलताको समस्या देखिए पनि वाणिज्य बैंकहरूको खुद मुनाफामा भने त्यसको प्रभाव अपेक्षाकृत न्यून देखिएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा अधिकांश बैंकको खुद नाफा बढेको देखिएको हो । सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/०८३ मा कुल ६९ अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको ५२ अर्ब ८८ करोड रुपैयाँको तुलनामा करिब ३१ दशमलव ९५ प्रतिशत अर्थात् १६ अर्ब ९० करोड रुपैयाँ बढी हो।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको उपलब्धता बढे पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकहरूलाई अतिरिक्त तरलता व्यवस्थापन चुनौती बनेको छ । तर ब्याजदरमा आएको कमी, लागत व्यवस्थापन, गैरब्याज आम्दानी तथा खराब कर्जा व्यवस्थापनलगायतका पक्षले अधिकांश बैंकको नाफा बढाउन सहयोग गरेको देखिन्छ।

कुमारीको नाफामा झण्डै तीन सय प्रतिशतको उछाल
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये खुद मुनाफामा सबैभन्दा ठूलो वृद्धि कुमारी बैंकको देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ८७ करोड रुपैयाँ खुद मुनाफा कमाएकोमा आर्थिक वर्ष २०८२/०८३ मा करिब तीन सय प्रतिशतले वृद्धि गर्दै सात अर्ब ३८ करोड रुपैयाँ पुर्‍याएको छ । एक वर्षमा मात्रै कुमारी बैंकको खुद मुनाफा पाँच अर्ब ५१ करोड रुपैयाँले बढेको छ । नाफामा आएको यो छलाङले बैंकहरूको समग्र नाफा वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको देखिन्छ।

तर सबैभन्दा धेरै खुद मुनाफा कमाउने बैंक भने नबिल बैंक बनेको छ । नबिलले आर्थिक वर्ष २०८२/०८३ मा सात अर्ब ९० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ९२ करोड रुपैयाँ रहेको नाफा यसपटक ३३ दशमलव ५० प्रतिशतले बढेको हो । त्यसैगरी ग्लोबल आइएमई बैंक छ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफासहित धेरै नाफा कमाउने बैंकको सूचीमा तेस्रो स्थानमा रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको सात अर्ब सात करोड रुपैयाँको तुलनामा २२ दशमलव ६७ प्रतिशतले बढी हो।

एभरेष्टदेखि एनएमबीसम्म अधिकांशको नाफा बढ्यो
अपरिष्कृत वित्तीय विवरणअनुसार एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ मा ५ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको चार अर्ब ८३ करोड रुपैयाँको तुलनामा बैंकको नाफा चार दशमलव ७५ प्रतिशतले बढेको हो।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि पछिल्लो आर्थिक वर्षमा चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब ८३ करोड ६० लाख रुपैयाँ रहेको बैंकको नाफा यसपटक ६० दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, सरकारी स्वामित्वकै नेपाल बैंकले चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३१ दशमलव ५० प्रतिशतले बढेको हो । प्राइम कमर्सियल बैंकले चार अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ४८ प्रतिशत बढी हो । यसैगरी एनएमबी बैंकको खुद मुनाफा चार अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४० दशमलव ६० प्रतिशतले बढेको छ । सानिमा बैंकले तीन अर्ब ५५ करोड रुपैयाँ तथा सिद्धार्थ बैंकले तीन अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । सानिमाको नाफा अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढ्दा सिद्धार्थको नाफा चार दशमलव ५४ प्रतिशतले बढेको छ।

केही बैंकको नाफा भने घट्यो
समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकले समान रूपमा सुधार गर्न भने सकेका छैनन् । लक्ष्मी सनराइज बैंकको खुद मुनाफा आर्थिक वर्ष २०८२/०८३ मा तीन अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष चार अर्ब छ करोड रुपैयाँ रहेको बैंकको नाफा २३ प्रतिशतले घटेको हो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद मुनाफा दुई अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको तीन अर्ब एक करोड रुपैयाँको तुलनामा बैंकको नाफा करिब पाँच प्रतिशतले घटेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफामा पनि उल्लेख्य कमी आएको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा दुई अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष चार अर्ब ३३ करोड रुपैयाँ रहेको नाफा यसपटक ३७ प्रतिशतले घटेको हो।

यद्यपि, एउटा आर्थिक वर्षको नाफा घटेकै आधारमा बैंकको समग्र वित्तीय क्षमता कमजोर भएको निष्कर्ष निकाल्न भने हतार गर्नुपर्ने देखिँदैन । बैंकको नाफा मूल्यांकन गर्दा कर्जा गुणस्तर, खराब कर्जा, प्रोभिजनिङ, ब्याज आम्दानी, गैरब्याज आम्दानी, पूँजी पर्याप्तता तथा आगामी अवधिको व्यवसाय विस्तार क्षमतालाई समेत हेर्नुपर्ने हुन्छ।

माछापुच्छ्रे र एसबिआई पनि नाफा बढाउनेमा
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको एक अर्ब ८८ करोड ३६ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १२ दशमलव ३४ प्रतिशतले बढेको हो । त्यस्तै नेपाल एसबिआई बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको एक अर्ब ८१ करोड रुपैयाँको तुलनामा बैंकको नाफा १२ दशमलव ८९ प्रतिशतले बढेको छ।

कृषि विकास बैंकको नाफा घट्दा हिमालयनमा असाधारण वृद्धि
कृषि विकास बैंकको खुद मुनाफा भने घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष तीन अर्ब ७३ करोड रुपैयाँ रहेको नाफा यसपटक २९ दशमलव ५१ प्रतिशतले घटेको हो।

यसको ठीक विपरीत हिमालयन बैंकको नाफामा असाधारण वृद्धि देखिएको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा एक अर्ब ४८ करोड तीन लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष १२ करोड ९७ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो एक हजार ४१ प्रतिशतभन्दा बढीको वृद्धि हो।

प्रभु नोक्सानीमा, एनआईसी एशियामा सुधारआर्थिक वर्ष २०८२/०८३ मा प्रभु बैंक भने खुद नोक्सानीमा गएको छ । अपरिष्कृत विवरणअनुसार बैंकले करिब २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले ८७ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएको थियो । त्यस्तै एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा भने उल्लेख्य सुधार देखिएको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा करिब १८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ऋणात्मक रहँदै करिब तीन अर्ब ८७ करोड रुपैयाँ नोक्सानीमा रहेको थियो । समग्रमा हेर्दा बैंकिङ क्षेत्रमा अधिक तरलता, कमजोर कर्जा माग र घट्दो ब्याजदरका बीच पनि अधिकांश वाणिज्य बैंकले नाफा बढाउन सफल भएका छन् ।