काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा विशेष पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको जनजीवन शीघ्र सामान्य बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित भदौ १६ गते विशेष धार्मिक अनुष्ठान गर्न लागेको हो ।
कोषका अनुसार उक्त दिन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ भने गुह्येश्वरी मन्दिरमा चण्डीपाठ तथा पूजा गरिनेछ ।
कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ । त्यस्तै गुह्येश्वरी शक्तिपीठमा नौ जना ब्राह्मणद्वारा चण्डीपाठ तथा पूजा गरिनेछ ।
पशुपतिका नवशक्तिपीठ, आगमघर, ११ महारुद्र, १० दिक्पाल, क्षेत्रपाल तथा विभिन्न देवीदेवताको तान्त्रिक तथा वैदिक विधिबाट विशेष क्षमापूजा र शान्तिपाठसमेत गरिने सदस्य भण्डारीले जानकारी दिए ।
यसैबीच, कोषको कार्यवाहक सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालिरहनुभएकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कोष सञ्चालक परिषद्का सदस्य भण्डारीले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।