शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढी प्रभावितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

शनिबार, भाद्र १३ २०८३

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

ग्रुपका अनुसार उक्त सहयोग आइएमई ग्रुप तथा यसद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उपलब्ध हुनेछ। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत कम्पनीले सहयोगमा सहभागिता जनाउनेछन्।

यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने ग्रुपले जनाएको छ।

आइएमईले विश्वका विभिन्न मुलुकबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको जनाएको छ। ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ तथा ‘खल्ती बाई आइएमई’ मोबाइल वालेटमार्फत सरकारको राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।

त्यस्तै, आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ।

अकल्पनीय विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागिएको आइएमई ग्रुपले जनाएको छ। सहयोगबाट बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

ग्रुपले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि देशका विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायत विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।