कास्की । पोखरामा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
भेलले बगाएपछि उद्धार गरी गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएका आमाछोरीमध्ये सुष्माको शुक्रबार राति र छोरी रानीकाको आज बिहान मृत्यु भएको हो।
स्थानीय कमल दाहाल श्रीमती सुष्मा र छोरी रानीकालाई स्कुटरमा राखेर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए ।
स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पु¥याएको थियो। छोरीलाई बचाउने प्रयास गर्दा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन्। त्यसपछि तीव्र गतिमा आएको भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पु¥याएको थियो।
श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरीले खोजी तथा उद्धार सुरु गरेका थिए। आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको थियो।