शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा मनाइँदै

शनिबार, भाद्र १३ २०८३

काठमाडौँ । मृत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व विशेषगरी काठमाडौँ उपत्यकामा धुमधामका साथ मनाउने गरिन्छ।

गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराइन्छ। सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने प्रचलन छ। यसरी नगर परिक्रमा गराउँदा मृतात्माले गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्ने धार्मिक विश्वास रहिआएको छ।

इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको निधनपछि शोकमा रहेकी रानीलाई संसारमा अरूले पनि यस्तै दुःख बेहोरेका छन् भन्ने देखाउन गाईजात्रा सुरु गरिएको मानिन्छ। गाईजात्राका क्रममा रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाबाट आदेश दिइएको र त्यसैबाट हाँस्यव्यङ्ग्यको परम्परा सुरु भएको जनश्रुति छ।

गाईजात्राका अवसरमा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद हुँदै नगर परिक्रमा गर्ने परम्परा अहिले पनि कायम छ। उपत्यकामा विशेष रौनक देखिने यो पर्वका क्रममा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्दै प्रहसन, नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। मृतकको सम्झनामा रामायणका करुण रसका गीत गाउने परम्परा पनि छ।

काठमाडौँ उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उल्लेख्य बसोबास रहेका शहरमा पनि गाईजात्रा विशेष उत्साहका साथ मनाइन्छ।

गाईजात्राको अवसरमा हाँस्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्दै आएका छन्। सरकारले यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष गाईजात्रा शनिबार परेकाले अतिरिक्त सार्वजनिक बिदा परेको छैन।