काठमाडौँ । देशभर आज नव यज्ञोपवीत (जनै) धारण तथा रक्षाबन्धन गरी जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले पूर्णिमाका दिन बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु तथा पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ।
तागाधारीहरूले गुरु तथा पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्ने र रक्षासूत्र बाँध्ने गर्दछन्। यसरी मन्त्रिएको जनै र डोरो धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो ब्राह्मण तथा पुरोहितहरूले वैदिक मन्त्रोच्चारणका साथ यजमानको दाहिने नाडीमा बाँधिदिने परम्परा छ।
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य वर्णका तागाधारीहरूले आफ्नो जनै फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र भोजन गरेर चोखोनीतोका साथ व्रत बस्ने परम्परा रहेको छ।
यसरी व्रत बसेका तागाधारीहरू पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी तथा कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने गर्दछन्। स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा समेत लिइन्छ। रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनारलगायत काठमाडौँ उपत्यका तथा देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ।
जनैपूर्णिमाका दिन विभिन्न थरिका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि छ। क्वाँटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने तथा वर्षायाममा शरीरमा लागेको चिसो हटाई तापको सञ्चार हुने धार्मिक तथा आयुर्वेदिक मान्यता रहेको छ।
विभिन्न प्रकारका गेडागुडी मिसाएर तयार पारिएको क्वाँटीको रस सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने आयुर्वेदिक चिकित्सकहरूको भनाइ छ। यसले चिसोका कारण लाग्ने रुघाखोकीजस्ता समस्यामा पनि लाभ पुग्ने विश्वास गरिन्छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने गर्दछन्। यसबाट दिदीबहिनी र दाजुभाइबीचको प्रेम तथा आत्मीय सम्बन्ध अझ प्रगाढ हुने सामाजिक मान्यता छ। पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाको अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्दछ।